अत्याधुनिक तथा सुविधा सम्पन्न साझाका २० वटा नयाँ बस थपिँदै
काठमाडौं। साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नेगरी अत्याधुनिक तथा सुविधा सम्पन्न भएको २० वटा नयाँ बस थप्न लागेको छ । ती बस काठमाडौं उपत्यकाका विभिन्न रुटमा चल्ने साझाले जनाएको छ ।
काठमाडौं उपत्यकाका लागि साझाका थप बसको आवश्यकता भएकाले २० वटा बस थप्न लागिएको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए ।
काठमाडौं महानगरपालिकाको ५ करोड रुपैयाँ तथा ललितपुर महानगरपालिकाको १ करोड गरी कुल ६ करोड लगानीमा साझाका नयाँ बस ल्याउन लागिएको हो । ती बसहरू काठमाडौं उपत्यका भित्रिएपछि मात्रै रुट निर्धारण हुनेछ । साझामा ९० प्रतिशतबढी सेयर सरकारी र स्थानीय निकायको रहेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न सडकमा अहिले साझाका ४७ वटा सुविधा सम्पन्न बसहरू सञ्चालित छन् । साझाका बस सुरुदेखि नै अपांगतामैत्री रहेका छन् ।
साझाले ल्याउन लागेका सिटी बसहरू अपांगमैत्री र सर्वसाधारणलाई सुविधा दिने खालका हुनेछन् भने बसका सिटहरू पनि उच्च स्तरको हुनुुका साथै आरामदायी हुने कम्पनीले जनाएको छ । जसमा दुईवटा फराकिला ढोका हुनुका साथै बसको पछिल्लो भागको ढोकाबाट ह्वीलचियर चड्न मिलनेगरी व्यवस्था मिलाइएको छ ।
जसले गर्दा अपांगता भएकाहरू पनि सजिलैसँग बस चढ्न र ओर्लन सक्ने कम्पनीको विश्वास छ । साथै ती सिटी बसको बीच भागमा पर्याप्त ठाउँ राख्नुका साथै ह्यांगरहरू पनि राखिनेछ, जसले गर्दा यात्रा गर्ने सर्वसाधारणका सामान राख्न सहज हुनेछ ।