‘भोजको खर्च उत्पादनमा लगानी गर्दा राम्रो’- डा. भट्टराई
काठमाडौं– नेपालको चाडपर्वको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शनिबार नेकपाको चियापान कार्यक्रमको आयोजनामा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिष्कार गरेका छन् ।
भट्टराईले ट्वीटरमार्फत धन्यवाद ट्वीट गर्दै लेखे, सत्तासीन कमरेडहरू,
‘एउटै खाममा ४ वटा शुभकामना/ निमन्त्रणा कार्ड पठाउनु भएकोमा धन्यवाद! तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना! गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ! जय होस!’
विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार भृकुटीमण्डपमा चियापान कार्यक्रम अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'का नामबाट निमन्त्रणा गरिएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।