News

निजगढ-भरतपुर रेलमार्गः डिपिआरका लागि आशयपत्र माग

निजगढ-भरतपुर रेलमार्गः डिपिआरका लागि आशयपत्र माग

काठमाडौ‌ । कूल १३६ किलोमिटर लामो निजगढ, हेटौंडा-भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । 

 

 

मेची-महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए।

 

 

नयाँ प्रस्तावअनुसार पूर्व-पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग गरिनेछ। चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रुख काट्नुपर्ने भएकाले नयाँ मार्गको पहिचान गरिएको हो।

 

 


निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी नयाँ रेलमार्गको प्रस्ताव गरिएको हो। यसअघि निकुञ्जभित्रबाट गरिएको डिपिआरले काम नगरेपछि नयाँ डिपिआर तयारीका लागि आशयपत्र माग गरिएको विभागको भनाइ छ। 

 

 

विभागका सूचना अधिकारी चित्रकारकाअनुसार आयशपत्र पेश गर्ने अवधि केही दिन बाँकी रहेको छ। केहीले आशयपत्र बुझाएका छन्, भने केही कम्पनी सम्पर्कका आएका छन्।

 

 

 

छानिने परामर्शदाता कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक रुपमा अध्ययन गर्नुपर्नेछ। यस्तै ठेक्का कागजात तथा परियोजना कार्यान्वयनका लागि कार्ययोजना समेत तयार पार्नुपर्नेछ। 

 

 

 

आशयपत्र पेश गर्ने परामर्शदाता कम्पनीमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डिपिआरको काम सम्पन्न गरिने विभागले जनाएको छ। 

 

 

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्ज बाहिरबाट नै रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा यसअघि नै सहमति भएको बताए।

निजगढ-भरतपुर रेलमार्ग डिपिआर आशयपत्र

विशेष