News

बलात्कार परीक्षणको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा

बलात्कार परीक्षणको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा

काठमाडौं । बलात्कार परीक्षणको गलत रिपोर्ट दिने दुई जना डाक्टर कारबाहीमा परेका छन् । गत भदौ ८ गते धनुषा जिल्लामा १२ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनापछि स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको थियो । 

 

सो अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतले बलात्कारीलाई जोगाउने उदेश्यले गलत स्वास्थ्य परीक्षण गरी गलत रिपोर्ट दिएकोमा कारबाहीमा परेका छन् । महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ ।

 

बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो । त्यसपछि जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए ।

 

त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ । सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो ।

 

समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन् । समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
 

बलात्कार जनकपुर अञ्चल अस्पताल गलत रिपोर्ट १२ वर्षीया बालिका

विशेष