विद्युतीय बस काठमाडौंमा पुर्याएको भन्दै लुम्बिनीमा विवाद
काठमाडौं । एसियाली विकास बैंक तथा इसियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने उदेशयले पठायो ।
लुम्बिनीमा आउने पर्यटकहरूलाई लक्षित गरी तथा प्रदुषण कम गर्ने उदेश्यले विद्युतीय बस भित्र्याइएको थियो । एडिबीले लुम्बिनीमा आउने पर्यटकहरूलाई स्तरीय वातानुकुल सुविधा दिने उदेश्यले बस सेवा दिएको थियो ।
तर लुम्बिनीको लागि दुई करोड मूल्य बराबरको ल्याएको बसलाई काठमाडौंमा पुर्यायो । काठमाडौंको साझा यातायातमार्फत सञ्चालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित छन् ।
लुम्बिनीका पर्यटन व्यवसायी लिलामणि शर्माले, सरकार लुम्बिनी प्रति जिम्मेवार नरहेको नरहेका देखिएको छ । र काठमाडौं पुर्याइएको बसलाई फिर्ता गर्ने माग समेत गरेका छन् । बसहरू फिर्ता नपठाए आन्दोलनमा जान सक्ने चेतावनी समेत दिएका छन् ।
एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो। लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
एकाएक काठमाडौं पुर्याएर बस उद्घाटन गरिए पनि बस चार्जिङको लागि स्टेशन भने लुम्बिनीमै निर्माण भइरहेको छ। लुम्बिनीको संग्रहालय नजिकै करिब १२ करोडको लागतमा बस चार्जिङका लागि स्टेशन बनिरहेको छ।
जापानस्थित ईशाका कम्पनीले चालू वर्षको अन्तिमसम्म काम सम्पन्न गर्नेगरी ३ महिना अगाडि बस चार्जिङ स्टेशन निर्माणको लागि ठेक्का पाएको थियो । पहिलो चरणमा आएका दुइटा बस काठमाडौं पुर्याइएको छ भने ३ वटा बस र ११ वटा कार आउन बाँकी छन्। एडिबीले प्रदान गर्ने सबै बस र कार विद्युतीय हुन्।
चाइनाको बिआइबी कम्पनीले निर्माण गरेको २० सिट रहेका बस एकपटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म गुड्न सक्ने छन्। बस, कार र स्टेशन गरी एडिबीले करिब २७ करोड रकम सहयोग उपलब्ध गराएको कोषका निमित्त सदस्यसचिव भट्टराईले जानकारी दिए ।
लुम्बिनीमा अहिले पुराना बस र जीप सञ्चालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरू पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य छन् ।
लुम्बिनी करिडोरमा रहेका दर्जनौ सिमेन्ट, छड, इट्टा र पेपर मिल्सबाट निस्कने धूलोधूँवाका कारण लुम्बिनी क्षेत्रको वायुलाई अत्यन्तै प्रदुषित बनाएको अनुसन्धान प्रतिवेदनले देखाएको थियो ।
जर्मनीमा रहेका डा.महेश्वर रुपाखेतीसहितको वैज्ञानिक टोलीले अनुसन्धान गरी गत वर्ष नै सरकारलाई लुम्बिनी क्षेत्रको वातावरणीय प्रदुषणको बारेमा जानकारी दिएको थियो ।
लुम्बिनी विवाद विद्युतीय बस