News प्रदेश ५

विषादी हालेर मौरी मारेपछि किसान त्रसित

विषादी हालेर मौरी मारेपछि किसान त्रसित

दाङ । विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । 

 

 

अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आशंका किसानमा छ । नेपाल मौरीपालक महासंघले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । 

 

 

 

महासंघका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गरे । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेका छन् । 

 

 

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ ।

 

 

 

‘मेरो ४४ गोलाभित्रै विष हालेको पाइयो, करिब २२ लाखको क्षति भएको छ, १८ गोला बेचेँ’ नेपालले भने । यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने नेपाल दुःखेसो गर्छन् । 

 

 

 

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक÷पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो । 

 

 

 

वि।सं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउँछन् ।

 

 

 

दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडौं लगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ । 

 

 

 

तोरी र चिउरी पहिलेनै फूल्ने भएकाले दाङमा चितवन, काठमाडौं, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्दछन् । दाङमा अहिलेको मौसममा चराउन विभिन्न जिल्लाबाट करिब ३० हजार गोला मौरी लगिएको अनुमान छ । 

 

 

 

चिउरीको मौसममा विभिन्न जिल्लाका किसान चितवनमा पनि मौरी चराउन पुग्छन् । नेपाल मौरीपालक महासंघ चितवन शाखा अध्यक्ष रोशन पण्डित बेलाबेलामा यस्ता घटना भइरहेको भन्दै मौरीको सुरक्षा गर्न सरकारसँग आग्रह गर्छन् । 

दाङ किसान त्रसित विषादी

विशेष