News

हिंसाविरुद्ध अभियान सबै मिलेर अघि बढाउनु पर्ने : गृहमन्त्री थापा

हिंसाविरुद्ध अभियान सबै मिलेर अघि बढाउनु पर्ने : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताएका छन् । 

 

गृह मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उनले सरकार एक्लैको प्रयासले यो सम्भव नहुने भन्दै सबै मिलेर यसलाई आन्दोलनको रुपमा अघि बढाउनु पर्ने बताए । 

 

विभिन्न क्षेत्रमा भएका कमीकमजोरीका बारेमा छलफल गरी आ–आफ्नो क्षेत्रमा भएका कमीकमजोरीलाई सच्याउँदै यो आन्दोलनलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो । भ्रष्टाचारी, तस्कर, बलात्कारी जनताका शत्रु भएको बताउँदै उनले यिनीहरुले देशको समृद्धिमा बाधा खडा गरेको बताए । उनले यस्ता तत्वलाई निस्तेज बनाएर देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए । 

 

मदिरा नियन्त्रणका लागि देशभरका प्रत्येक वडामा अनुगमन संयन्त्र गठन गर्नुपर्ने बताउँदै उनले घरेलु मदिरा उत्पादनलाई व्यवस्थित गर्न सकिने बताए । घरेलु मदिरा संकलन केन्द्र स्थापना गरी गुणस्तर परीक्षण गरी बिक्री गर्ने व्यवस्था गर्न सकिने गृहमन्त्री थापाको भनाइ थियो । लागुऔषधको स्रोत नै समाप्त पार्नुपर्ने बताउँदै उनले त्यसका लागि गृहमन्त्रालय सुक्ष्मरुपमा लागिपरेको बताए । 

 

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने, भएका ऐन कानुनको कार्यान्वयन हुन नसक्दा महिला हिंसाका घटना बढ्दै गएको बताए । राजनीतिक परिवर्तन भए पनि चेतना, मानसिकतामा परिवर्तन हुन नसकेको बताउँदै उनले जनताको चेतनाको स्तर विकास गर्नुपर्ने बताए । भौतिक पूर्वाधारले मात्रै देश विकसित हुन नसक्ने बताउँदै उनले जनतासुखी नभएसम्म देश समृद्ध हुन नसक्ने बताए । 

 

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले कार्यप्रणालीमा गम्भीर त्रुटि रहेकाले महिला हिंसाका घटना बढ्दै गएको बताए । कार्यशैली र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउँदै उनले सरकार बलियो गरी प्रस्तुत हुनुपर्नेमा जोड दिए । प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले समाजमा सकारात्मक सोचको विकास गर्नुपर्ने बताउँदै गोष्ठीमा प्राप्त सुझाव प्रदेश सरकारका लागि मार्गदर्शक भएको बताए । 

 

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पाठ्यपुस्तकमा नैतिक शिक्षा समावेश गर्नुपर्ने बताउँदै सामाजिक क्षेत्रमा राज्यले अध्ययन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गृहमन्त्रालयका सहसचिब नारायणप्रसाद शर्मा दुवाडीले मुख्य कार्यक्रमको उद्देश्य, रुपरेखा र विषयमा प्रस्तुति गए । 

 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको समग्र शान्ति सुरक्षा, महिला हिंशा र अन्य अपराधमा लागुऔषध र मदिराको प्रभावको अवस्थाबारे जानकारी गराए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमामा हुने अपराध, सीमा सुरक्षा लगाएतका विषयमा बोल्नु भएको थियो । 

 

कार्यक्रममा राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले सुरक्षा र सूचनाका विषयमा जानकारी गराएका थिए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ईश्वरी भट्टराई र नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अपराध मुक्त समाज निर्माणका लागि पार्टीका तर्फबाट सहयोग गर्ने बताए । 

 

समुदायमा सरोकार राख्ने विभिन्न समुदाय र पेशा कर्मीहरुको कार्यक्रममा सहभागिता थियो । प्रतिनिधिमुलक ढंगबाट सहभागीले आ–आफ्नो सुझाव राखेका थिए ।
 

गृहमन्त्री रामबहादुर थापा लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्ध हिंसा कम गर्ने अभियान

विशेष