कामनपा थप सिसी क्यामेरा जडान गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीमा सुरक्षा व्यवस्था बलियो बनाउन विभिन्न एक हजार ८ सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।
यसअघि नेपाल प्रहरीले कामपाभित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करिब ५ सयभन्दा बढी क्यामेरा जडान गरेको छ ।
थप जडान गर्ने एक हजार ४ सयभन्दा बढी क्यामेराका लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले बताए ।
जडानका लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य सहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।
त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलनबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् कि छैनन् भन्ने जानकारीका लागि पनि क्यामेरा जडान गर्न लागिएको हो ।
सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।
उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ । दसैँ अगावै काम सुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दसैँलगत्तै प्रभावकारीरुपमा काम सुरु गरिने जानकारी गराइएको छ ।
कामनपा