News राजनीति

 अब खेर गइरहेको दूधको व्यवस्थापन हुन्छः मुख्यमन्त्री राई

 अब खेर गइरहेको दूधको व्यवस्थापन हुन्छः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताएका छन् । 

 

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर-१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको बिहीबार उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिए ।

 

 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताए । 

 

 

उनले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिलाए ।

 

 

मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वाताकूलित यातायातको व्यवस्था गरिने जानकारी दिए ।

 

 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्रविधिको विषयमा ज्ञान दिनुपर्ने बताए । 

विराटनगर मुख्यमन्त्री शेरधन राई

विशेष