विदेश

अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

वासिङ्टन । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन् । 

 

 

 

 

तर अमेरिकी वरिष्ट कुटनीतिज्ञ जाल्मी खलिलजादको विवादास्पद भनाइको मन्त्री कुरेसीले खुलेरै विरोध गरे । अफगानिस्तानका लागि राजदूत रहिसकेका खलिलजादको विवादास्पद वक्तव्य अहिले पाकिस्तान सरकारका लागि गलपासो हुँदैछ । 

 

 

पाकिस्तानका लागि राजदूत नियुक्त भएका खलिलजादले विगतमा अफगानी विद्रोही लडाकूलाई पाकिस्तानले संरक्षण गरिरहेको भन्दै उनीहरुलाई दिइआएको सहयोग नरोक्दासम्म पाकिस्तानलाई आतङ्कवादी राष्ट्रको रुपमा घोषणा गर्न आग्रह गरेका थिए । 

 

 

 

मन्त्री कुरेसीले खलिलजादको नियुक्तिप्रति पाकिस्तानी सञ्चार माध्यमले बिरोध गरिरहेको बताउनुभयो । खलिलजादका भनाइहरु पाकिस्तानका सन्दर्भमा अत्यन्त नकारात्मक रहेको मन्त्री कुरेसीले उल्लेख गरे ।

 

 


उनले अमेरिका र पाकिस्तानको सम्बन्ध पछिल्ला वर्षमा खराब स्थितिमा पुगेको बताउँदै दुई देशबीचको सम्बन्धलाई जतिसक्दो चाँडो सुदृढ बनाउनुपर्ने खाँचो औंल्याए । 

 

 

 

अमेरिकी विदेश मन्त्रालयका अनुसार, खलिलजादले पाकिस्तान र अफगानिस्तानको यही बिहीबारदेखि भ्रमण गर्ने कार्यक्रम छ । उनले त्यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबीयाको भ्रमण गर्ने छन् ।

 

 


ट्रम्प प्रशासनले पछिल्ला दिनहरुमा पाकिस्तानमाथि कडा रबैया अपनाइरहेको छ । तालिबान लडाकूका लागि आश्रय उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिइआएको सैनिक सहायता रोकेको छ ।

 

 

तालिबानलाई अफगान सरकारसँग प्रत्यक्ष वार्ता गरी शान्ति कायम गर्न पाकिस्तानले मद्दत गरोस् भन्ने अमेरिकी चाहना छ । अफगानिस्तानमा जारी १७ वर्षदेखिको युद्ध मत्थर हुनुको साटो पछिल्ला दिनमा अझ खतरनाक हुँदै गएको छ । 

 

 

कुरेसीले अमेरिकी सैनिक सहायता रोकिएकामा पनि आलोचना गर्नुभयो, तर अमेरिकी समकक्षी माइक पोम्पेओसँग वासिङ्टनमा भएको भेटपछि परिस्थितिमा सुधार आउने अपेक्षा गरे । 

 

 


अफगान युद्धको शान्तिपूर्ण समाधानका लागि पाकिस्तान, अफगानिस्तान र संयुक्तराज्य अमेरिकाको एउटै धारणा रहेको पनि मन्त्री कुरेसीले बताए । तर तालिबानले काबुलसँग सोझो वार्ता गर्न अस्वीकार गरिरहेको छ, र उनीहरु संयुक्तराज्य अमेरिकासँग वार्ता गर्न चाहन्छन् । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन् । एजेन्सी

अफगानिस्तान पाकिस्तान

विशेष