News

दशैं मनाउन घर फर्किदैं नेपाली

दशैं मनाउन घर फर्किदैं नेपाली

बाँके । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा अखाइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे ।

 

 

उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगेँ’, शाहीले भने । तर, जब उनी जमुनाहा पुगे ढुक्कसँग नेपाल प्रवेश गरे । 

 

 

उनीजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गर्नुभएका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, ‘सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।’ 

 

 

दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ । 

 

 

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ । 

 

 

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताए । ‘घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “तिहारपछि फेरि उतै फर्कन्छु ।’ 

भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् ।

दशैं भारत नेपाली

विशेष