बुझाएनन् साढे ११ हजार शिक्षकले सम्पत्ति विवरण
काठमाडौं । आर्थिक वर्ष २०७४÷०७५ मा विद्यालय शिक्षक किताबखानामा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए ।
शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उनका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् ।
भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
उनले सङ्कलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।
उपनिर्देशक बुढाप्रिथीले करीब चार हजार शिक्षकले आफ्नो सङ्केत नम्बर गलत भरेर बुझाएको जानकारी गराए । उनका अनुसार आव २०७३÷०७४ मा ११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।
मुलुकभरि करीब एक लाख सात हजार ८५३ स्थायी र अस्थायी शिक्षक रहेको किताबखानामा विवरण रहेको छ । गत वर्ष चार हजार ४३० शिक्षकले गलत संकेत नम्बर भरेका थिए ।