ज्ञवाली यसकारण प्रहरीको फन्दामा, हेर्नुस् उनको वास्तविक कहानी
काठमाडौं । कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो ।
गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो ।
नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीले आफैंले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गरे ।
सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैंले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियो ।
शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन् बैंकलाई समस्या पारे । बैंकिङ क्षेत्रमा जसरी दिन दुई गुणा रात चार गुणाले प्रगति गरे, सोही रफ्तारमा उनले असफलताको नमीठो पाठ पनि पाए ।
बैंक ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीको खोजी गर्न थाल्यो । बैंकिङ क्षेत्रमा स्थापित भइसकेको किष्ट बैंक प्रभु विकास बैंकसँग गाभिएसँगै अस्तित्वसमेत मेटियो ।
त्यसपछि प्रभु बैंकले २०७१ साल भदौ ३० गतेदेखि ‘क’ वर्गको बैंकको रुपमा कारोवार गर्दै आएको छ । प्रहरीको अनुसन्धान र अदालतको आदेशपछि प्रभु बैंकले ज्ञवालीको नाममा रहेको रु २३ करोड बराबरको शेयर बिक्री गरिसकेको छ ।
किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीसमेतले जम्को प्रकाशन प्रालिसँग कमसल धितो लिई, धितोको अधिक मूल्यांकन गरी बैंकलाई स्टकको गलत विवरण पेश गरेका थिए ।
उहाँलाई बैंक ठग्ने उद्देश्यले स्वीकृतिबिना कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ । जम्को प्रकाशन प्रालि ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीको नाममा खोलिएको संस्था हो ।
पाटन उच्च अदालतले गौरीलाई समेत तीन वर्ष जेल सजाय र छ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।
बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई नेपाल प्रहरीले आज कैलाली र कञ्चनपुर जिल्लाको सीमानामा पर्ने मोहना नदीको पुल नजिक गड्डा चौकीबाट पक्राउ गरेको छ ।
बैंकिङ कसूर र कीर्ते जालसाझी मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले कैद सजाय र जरिवाना तोकेको छ ।
बैंकको स्वीकृतिसमेत नलिई शेयरधनी एवं सञ्चालक पटकपटक परिवर्तन गरी जम्को प्रकाशन प्रालिको नाममा किष्टमा नागरिकले जम्मा गरेको निक्षेप अन्यत्र प्रयोग गरेका थिए । ऋण रकम र सोको ब्याज चुक्ता नगरी कर्जा दुरुपयोग गरेको आरोप ज्ञवालीमाथि लागेको छ ।
बैंकिङ कसूर गरेको मुद्दामा उच्च अदालत पाटनले २०७३ साल जेठ १३ गते ज्ञवालीलाई चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार ५११ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
तत्कालीन किष्ट बैंक हाल प्रभु बैंकका तर्फबाट कार्यकारी अधिकृत कुमार लम्सालले ज्ञवाली विरुद्ध जाहेरी दिएका थिए । ज्ञवालीलाई कीर्ते जालसाझी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ साल जेठ चार गते २९ लाख ७७ हजार ३५६ जरिवाना ठहर्ने फैसला गरेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार बैंकिङ कसूरको अभियोगमा ज्ञवालीलाई शुक्रबार पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता शैलेश थापाले जतिसुकै ठूलो पद र प्रतिष्ठामा रहेर अपराध गरेको भए पनि त्यो धेरै दिन नटिक्ने र कुनै न कुनै दिन कानूनको दायरामा आएरै छाड्ने बताए ।
नेपालको इतिहासमै ठूलो बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई पक्राउ गरेर प्रहरीले ठूलो सफलता हात पारेको छ । प्रवक्ता थापाले भने, ‘प्रहरीले सबै खालको साधन र स्रोतको प्रयोग गर्न सक्दा जस्तोसुकै अपराधीलाई पनि पक्राउ गर्न सक्छ भन्ने पुनःपुष्टि गरेको छ ।’
लामो समयदेखिको अनुसन्धानले सफलता पाएको जानकारी दिंदै उनले अदालतको आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढ्ने बताए ।
छिट्टै सफलताको सिंढी चढेर सोही रफ्तारमा ओरोलो लागेका ज्ञवालीको नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ ।