News

४५ लाख क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

४५ लाख क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी । क्षतिपूर्तिबापत मृतक परिवारले पाउने ४५ लाख रुपैयाँ बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रबार तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । 

 

 

वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज नगरपालिका–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो । 

 

 

विजय स्थानीय शान्ति समिति भङ्ग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् भने राजारामसमेत स्थानीय शान्ति समितिमा कार्यरत रहेका थिए ।

 

 

जिल्ला प्रशासन कार्यालयमा लेखापाल पदमा कार्यरत निरौला गत वैशाखमा मात्र सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगरमा कार्यरत छन् । 

 

 

कतारमा २०७२ साल फागुनमा मृत्यु भएका सदाकी श्रीमती डोलीले पाउने क्षतिपूर्ति बापतको रकम ठगी गरेर भागबण्डा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कारवाही थालेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

 

 

विष्टका अनुसार बौवालालको मृत्यु भएपछि क्षतिपूर्तिबापत परराष्ट्र मन्त्रालयमार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रकम मिलोमतो गरी भागबण्डा गरेर ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । 

 

 

लामो समयसम्म रकम हात नलागेपछि जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो गरेपछि प्रजिअ पौडेलले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो । 

क्षतिपूर्ति कर्मचारी

विशेष