विदेश

खालिदा जियालाई उपचार गराउन आदेश 

खालिदा जियालाई उपचार गराउन आदेश 

ढाका । बंगलादेशको एउटा उच्च अदालतले भ्रष्टाचारको सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ । 

 

जिया लामो समयदेखि बिरामी रहेकीले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार आदेश दिएको हो । 

 

न्यायाधीश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले आदेश दिएपछि जियाकी समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका थिए । 

 

केही हप्ता पहिले नेत्री जियाले आफू अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बताएकी थिइन् । त्यसपछि उनका समर्थकहरू थप आक्रोशित भएका थिए । 

 

पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षीया जिया कारागारभित्र ह्लिचियरबाट आवतजावत गर्ने गरेकी छन् । 

 

अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् । उनले केही हप्ता पहिलो भनेकी थिइन्, ‘मैले न्याय पाउँदिन भन्ने मलाई थाह छ, मेरो हातखुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर । तिमीहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।’ 

 

बंगलादेश नेस्नालिस्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको बताउँदै आएकी छन् ।

 

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरुपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले नेत्री जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो ।  –एजेन्सी  

बंगलादेश खालिदा जिया

विशेष