ढुक्क हुनुहोस्, चुनावमा गरेका वाचा भुलेका छैनौंः उपप्रधानमन्त्री पोख्रेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने बताएका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व. केवलबहादुर श्रेष्ठको १३ औं दिनको पुण्यतिथिमा आइतबार दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा उनले यस्तो बताएका हुन् ।
रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि सबैले लाग्नुपर्नेसमेत बताए । उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने, ‘जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।’
नौ÷नौ महीनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्दै उनले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए ।
आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिदैं रक्षा मन्त्री पोखरेलले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिए ।
यसैबीच, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आइतबार नै व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् ।
जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उनी उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिए ।
उपप्रधानमन्त्री पोख्रेलले आइतबार नै भानु नगरपालिका-१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गरेका छन् ।