News

अब नारायणगढ-मुग्लिन सडक एक घण्टामा पार

अब नारायणगढ-मुग्लिन सडक एक घण्टामा पार

चितवन । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ-मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । 

 

 

गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैं, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए ।

 

 

नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । 

 

 

सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताए । 

 

 

 

भदौ २६ गते करीब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो । त्यसयता पहिरो नखसेको इञ्जिनियर खनालले बताए । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ । 

 

 

 

सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । शुरुमा रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम रु तीन अर्ब २७ करोड पुगेको उनले बताए । 

 

 

 

सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका बेला यो सङ्ख्या थपिने गर्दछ । 

नारायणगढ-मुग्लिन सडकखण्ड

विशेष