News व्यापार

सेफ्स एसोसियसनले नेपाली खानाको प्रवर्धन गर्ने

सेफ्स एसोसियसनले नेपाली खानाको प्रवर्धन गर्ने

काठमाडौं  । सेफ्स एसोसियसन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । 

 

एसोसियसनको २४औँ वार्षिक साधारणसभाका अवसरमा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिइयो । एसोसियसनका अध्यक्ष श्रीराम अधिकारीले नेपालमा धेरै जाति, जनजाति रहेकाले प्रत्येक जातजातिका विविध खाना र परिकारलाई समेट्न कार्यालय स्थापना गर्न लागेको जानकारी दिए । 


एसोसियसनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एसोसियसनले टर्की, अस्ट्रेलिया, भारत, जापान, चीनलगायत मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ । 

 

एसोसियसनका महासचिव उद्धव थापाले विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई नेपाली मौलिक खानामा आकर्षण गर्न सेफ्स एसोसियसन लागेको बताए । 

 

नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न एसोसियसनले ०७६ को वैशाखमा भक्तपुर दरबार क्षेत्रमा खाना महोत्सवको आयोजनासमेत गर्न लागेको छ । यस्तै आगामी असोज २६ गते शुक्रबारदेखि भारतको अमृतसरमा हुन लागेको ‘वल्र्ड हेरिटेज कुजिन समिट–२०१८’ मा नेपाली मौलिक खानालाई प्रदर्शन गर्न लागेको एसोसियसनले जनाएको छ । सन् १९९६ मा स्थापना भएको एसोसियसनमा हाल दुई हजारभन्दा बढी सदस्य रहेका छन् । जसमा पाँचतारेदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध छन् । 

 

एशोसियशनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियशनका उपाध्यक्ष रेशम लामाले जानकारी दिए । 

सेफ्स एसोसियसन नेपाली मौलिक खाना

विशेष