पन्ध्र वर्षदेखि बेहोस बनाएर लुटपाट गर्ने गिरोह पक्राउ
चितवन । पन्ध्र वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका-६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन् । परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो । उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जानकारी दिए ।
उनीहरु सुनारको घरमा अमिलो बेच्ने बहानामा बास बस्न पुगेका थिए । सो क्रममा उनीहरुले बेहोस पार्ने ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोगले सुनारको परिवारमा आमा र श्रीमतीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो ।
उनीहरुले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौंडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा उनीहरुले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्वीकारेको बताइएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ ।
चितवन गिरोह पक्राउ