समय अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार
बझाङ । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ ।
बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् ।
निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् ।
त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् । ३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ ।
‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’
अहिले ठेक्का पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ छ । उनले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् ।
यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् । नयाँ पत्रिकाबाट साभार
ठेकेदार गृह मन्त्रालय बझाङ