News स्वास्थ्य

वीर अस्पतालमा उपकरण, औषधि खरिददेखि कर्मचारी भर्नासम्ममा अनियमितता

वीर अस्पतालमा उपकरण, औषधि खरिददेखि कर्मचारी भर्नासम्ममा अनियमितता

काठमाडौं । वीर अस्पतालमा उपकरण र औषधि खरिददेखि कर्मचारी भर्नासम्ममा अनियमितता भएको पाइएको छ । 

 

 

राष्ट्रिय सतर्कता केन्द्रले शृंखलाबद्ध अनियमितता भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

 

 

प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभागका लागि इन्ट्राओपरेटिभ सिटिस्क्यान खरिद गर्दा बोलपत्र प्रक्रियामै आर्थिक अनियमितता भएको केन्द्रले जनाएको छ । १५ करोड ९५ लाखमा मेसिन उपलब्ध गराउने बोलपत्र अस्वीकृत गरेर २० करोड ४९ लाखको प्रस्ताव सदर गर्दै मेसिन खरिद गरिएको छ ।

 

 

१८ जेठ ०७४ मा वीरले गठन गरेको प्रा.डा. प्रकाश विष्ट, प्रकाश पौडेल र बायोमेडिकल इन्जिनियर स्मृति काफ्ले रहेको समितिले प्रतिमेसिन २१ करोड लागत अनुमानसहित मेसिनको स्पेसिफिकेसन पेस गरेको थियो ।

 

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिस्तरीय निर्णयबाट इस्टिमेट स्वीकृत गरी दुईवटा मेसिन खरिदका लागि बोलपत्र आह्वान भएको थियो । तोकिएको समयमा दुईवटा फर्मले टेन्डर हाले । तर, खरिद अनुमति दिने वेला अनियमितता भएको केन्द्रको ठहर छ । २० असार ०७४ मा बोलपत्र खोलिएको थियो ।

 

 

‘बोलपत्रमा बायोमेड इन्टरनेसनल नामक फर्मले ब्रेनल्याब जर्मनीबाट उत्पादित एइरो मोडेलको मेसिन १८ करोडमा उपलब्ध गराउने उल्लेख गरेको थियो । तर, पछि फर्ममा केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप र बोलपत्रदाताको स्ट्याम्प लगाएको पाइयो । 

 

 

त्यस्तै, अर्को प्रतिस्पर्धी फर्म हिमालय मेडिटेकले प्रतिथान १५ करोड ९५ लाखका दरले २ थानका लागि ३१ करोड ९० लाखको बोलपत्र पेस गरेको थियो ।

 

 

यो फर्मको कबोल अंक पनि टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर गरेर सच्याएको भेटियो,’ केन्द्रले भनेको छ, ‘अस्पतालले दुईवटा मेसिन माग भएकोमा एउटा मात्र मेसिनका लागि बोलपत्र पेस गर्ने र त्यो पनि प्रतिस्पर्धीभन्दा करिब ५ करोड बढी मूल्य राख्ने बायोमेड इन्टरनेसनलको बोलपत्र स्वीकृति गरेको छ । 

 

 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को उपदफा १ अनुसार न्यून कबोल गरिएको बोलपत्रलाई स्वीकृत नगरी बढी मूल्यको बोलपत्र स्वीकृत गर्नु भ्रष्टाचार ठहरिन्छ ।’

 

 

लगत्तै उपकुलपतिको निर्देशनअनुसार त्यही मेसिन फेरि राष्ट्रिय ट्रमा सेन्टरका लागि भन्दै सोझै खरिद गरी अनियमितता गरेको पनि प्रतिवेदनमा उल्लेख छ । 

 

 

योजना बनाएर समयमै खरिद प्रक्रिया पनि अगाडि नबढाउने र अर्थिक वर्षको अन्त्यतिर बजेट फ्रिज हुन्छ भन्दै हतारमा मेसिन खरिद गर्ने शैली पनि वीरमा भेटिएको छ । इमर्जेन्सी खरिदका नाममा हतारमा सोझै खरिद गर्दा आर्थिक अनियमितता बढेको सतर्कता केन्द्रको ठहर छ । नयाँ पत्रिकाबाट

वीर अस्पताल अनियमितता

विशेष