News

इस्लाम धर्मावलम्बीकाे निधारमा सप्तरंगी टीका

इस्लाम धर्मावलम्बीकाे निधारमा सप्तरंगी टीका

 काठमाडौं । नेपालगन्जका इस्लाम धर्मावलम्बीले भाइटीका लगाएका छन् । बाँके युनेस्को क्लबका अध्यक्षसमेत रहेका समाजसेवी प्रवेज अली सिद्दिकीले नेपालगन्जकी माया थापा र मीना भुसालको हातबाट टीका लगाएका हुन् । 

 

 

उनले थापालाई दिदी र भुसाललाई बहिनी बनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले पनि भाइटीका लगाएका छन् । 

 

 

मुस्लिम समुदायका भए पनि २० वर्षदेखि उनले हिन्दूले मनाउने चाड दसैं र तिहारमा टीका लगाउँदै आएका छन् । नेपालगन्ज–१ धम्बोझीनिवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आएको चुन्नाले बताए ।

 

 

पहाडी समुदायको बाक्लो बसोवास रहेको नेपालगन्जको घरबारीटोलमा बस्दै आएका उनले सामाजिक सद्भावका लागि टीका लगाउने गरेको बताए । ‘मर्दापर्दा काम लाग्ने छिमेकी हुन्, छिमेकी राम्रो भए मात्र आइपर्ने समस्यामा साथ पाइन्छ,’ उनले भने ।

 

 

दसैंमा नेपालगन्ज रामबागका शक्तिको घरमा गएर टीका लगाउने गरेको उनले बताए । चुन्नाले भने, ‘हाम्रो परिवार मुस्लिम र हिन्दू दुवैको चाडमा रमाउने गर्छ ।’ धार्मिक तथा सामाजिक सद्भावका लागि भाइटीका लगाउने र गैरहिन्दूले पनि तिहार मनाउने गरेका छन् ।

 

 

धार्मिक तथा सामाजिक हिसाबले अति संवेदनशील मानिएको बाँकेमा थारू समुदाय र मुस्लिम धर्मावलम्बीले पनि भाइटीका लगाउन सुरु गरेका छन् ।

 

 

नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले १० वर्षदेखि भाइटीका लगाउँदै आएका छन् । उनले यसपटक भने पोखरामा रहेका कारण टीका लगाउन नपाएको गुनासो गरे ।

 

 

थारू समुदायमा पछिल्लो समय अधिकांशले भाइटीका लगाउन थालेका छन् । अन्य समुदायजस्तै देउसी–भैलो खेल्ने, सेलरोटी, फिनी, अनरसा, सिंकामारी, रोटी पकाएर सामाजिक सद्भाव बढाउन थारू समुदायले पनि भाइटीका लगाउन थालेको थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए । नयाँ पत्रिकाबाट 

सप्तरंगी टीका इस्लाम धर्मावलम्बी

विशेष