News

फाल्गुनन्द जयन्तीमा आज सार्वजनिक बिदा

फाल्गुनन्द जयन्तीमा आज सार्वजनिक बिदा

इलाम । जिल्लाका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । 

 

 

यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरिएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए। 

 

 

महागुरु फाल्गुनन्दलाई सरकारले विसं २०६६ मा १६औं राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको चुक्चिनाम्बामा जन्मिएका महागुरुको जन्मजयन्तीका अवसरमा रुपाटारस्थित किराँत मन्दिरमा किराँत धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन् ।

 

 

 किराँत धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्दको बसोवास रहेको स्थल माङसेबुङ गाउँपालिकाको लारुम्वामा किराँत धर्मानुरागीहरूले पूजापाठ गर्ने गरेका छन् । 

 

सिद्धिथुम्का महोत्सव शुरू 

इलामको देउमाई नगरपालिका–७ स्थित पर्यटकीयस्थल सिद्धिथुम्कामा तीनदिने पर्यटन महोत्सव शुरू भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ भन्ने नाराका साथ आजदेखि महोत्सव शुरू भएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिए। 

 

 

यहाँको खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान पर्यटकीय आकर्षण हुन् । 

 

 

महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीको साथ कार्यक्रमको उद्घाटन, दोस्रो दिन भव्य साँस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोह हुनेछ । 

इलाम स्थानीय तह महागुरु फाल्गुनन्द जयन्ती

विशेष