News

साइबरबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै

साइबरबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै

काठमाडौं । साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । पीडित हुनेमा अधिकांश महिला छन् ।

 

 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गएको ४ वर्षमा साइबर अपराधबाट ३ हजार ७ सय ८७ सर्वसाधारण पीडित भएका छन् ।

 

 

जसमध्ये ९९ प्रतिशत पीडित १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिला छन् । बाँकी एक प्रतिशत पीडित सेलिबे्रटी, उच्च तहका अधिकारी र व्यापारी रहेको प्रहरीले जनाएको छ ।

 

 


महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताए । ‘साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ ।

 

 

विशेषगरी ११ र १२ कक्षा अध्ययन गर्ने विद्यार्थी ज्यादा पीडित भएको देखिन्छ,’ एसपी उप्रेतीले भने, ‘केही सेलिब्रेटीदेखि मुलुकका उच्च ओहदामा रहेकाहरू समेत पीडित बनेका छन् ।’

 

 

महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४–७५ मा महाशाखाले मात्रै साइबर अपराधबाट पीडित १ हजार ४ सय ८२ लाई उद्धार गर्‍यो ।

 

 

यो संख्या अघिल्लो आर्थिक वर्षभन्दा २३ दशमलव ६४ प्रतिशतले धेरै हो । आव ०७३–७४ मा महाशाखाले १ हजार १ सय ९७ पीडितको उद्धार गरेको थियो ।

 


महाशाखाका अनुसार त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा ८ सय ३ पीडित तथा ०७१–७२ मा ३ सय ५ पीडितको उद्धार भएको थियो ।

 

 

महाशाखाले मुद्दा नै चलाएका घटना भने निकै कम छन् । गएका ४ वर्षमा महाशाखाले साइबर अपराधअन्तर्गत जम्मा १ सय ३७ मुद्दा मात्रै अदालतमा पेस गरेको छ । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले सबै उजुरीविरुद्ध मुद्दा चलाउन सम्भव नहुने भएर यस्तो भएको बताए ।

 

 

उनले भने, ‘हामीकहाँ साइबर अपराधका धेरै पीडित आउँछन् । यस्ता अपराध योजनाबद्धभन्दा पनि क्षणिक उत्तेजनाका आधारमा भएका पाइन्छन् ।

 

 

त्यसैले उजुरी गर्न आएका दुवै पक्षलाई सँगै राखेर सम्झाइ–बुझाइ गर्छौं । सकेसम्म मेलमिलापमा केस टुंगिन्छ । गम्भीर प्रकृतिको अपराधमा भने मुद्दा दर्ता गर्छौं ।’ नयाँ पत्रिकाबाट

साइबर अपराध पीडित

विशेष