News

कात्तिक नाच सुरू, १२ दिनसम्म हुने

कात्तिक नाच सुरू, १२ दिनसम्म हुने

काठमाडौं । ललितपुरको पाटनस्थित कात्तिक डबलीमा कात्तिक नाच सोमबारबाट सुरु भइ १२ दिनसम्म हुने भएको छ ।

 

कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाचहरू प्रदर्शन गरिनेछ । यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका थिए ।

 

देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू भएको कात्तिक नाच समितिका उपाध्यक्ष प्रतापधर शर्मा बताउँछन् ।

 

‘कुनै समय महिनाभरि देखाइने हुँदा कार्तिक नाचका नामले यो नाच परिचित थियो। २७ दिनसम्म देखाइन्थ्यो,’ प्रतापधरले भने, ‘अहिले छोट्टिएर १२ दिनमा पुगेको हो । अर्थिक समस्याका कारण यसका धेरै नाच हराउँदै गएका छन् ।'

 

वि. सं १६९७ सालमा ललितपुरको राजा सिद्धिनरसिहंले आफ्नो देश र जनताको कल्याणका लागि विश्वकै लामो नाट्य महोत्सव आयोजना गर्ने सोच बनाए ।

 

यसै शिलशिलामा नाट्य क्षेत्रमा धुरनधर शिक्षा गुरु हरिवशं आचार्य र वाद्य क्षेत्र र तान्त्रिक विधामा धुरनधर दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दरबारमा बोलाए ।

 

यसैको स्वरुप त्यो समयमा ५ दिनसम्म उक्त नाच सञ्चालन भएको थियो । ५ दिनबाट सुरू भएको यो नाचलाई सिद्धिनरसिंहको छोरा श्री निवास मल्लले त्यसमा लोक नाटक थपेर १५ दिनसम्म लम्बाए ।

 

पछि श्री निवासका छोरा योग नरेन्द्र मल्लले त्यसमा उषाकिरण लिला थपेर २७ दिनसम्म प्रदर्शन गरे । कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भनिन थालिएको थियो ।

 

‘वि.सं २००७ सालदेखि २०३७ सालसम्म आइपुग्दा नाच दुई दिनमा झर्यो । आर्थिक पक्ष कमजोर भएपश्चात यसका नृत्यकर्मीहरूले समय मिलाउन सकेनन्,’ प्रतापधरले भने, ‘एकपटक अनुबन्धित भएपछि १२ वर्षसम्म यो नृत्यकर्ममा लाग्नुपर्ने भएकाले नाच जगेर्ना भएन । त्यही क्रम जारी छ ।’

 

आर्थिक अभावमा पर्दै आएको यो नाच पुर्खौंदेखि चलिआएको संस्कृति धान्न मात्र सञ्चालन गरिएको प्रतापधर बताउँछन् । यो वर्ष ललितपुर महानगरले दुई लाख र पाटन संग्रहालयले २० हजार सहयोग गरेको उनले बताए ।

कात्तिक नाच १२ दिनसम्म हुने

विशेष