राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान सारिने, प्रहरी अधिकारी रुष्ट
काठमाडौ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना महाराजगन्जबाट काभ्रेको पनौती सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् ।
७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिमरप्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ ।
मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास बिस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय लिएको थियो । एकेडेमीको क्षेत्रफल १९३ रोपनी छ ।
यसभित्र पेट्रोल पम्पदेखि कुकुर तालिम केन्द्रसम्म छन् । शीतल निवासले यसअघि प्रतिष्ठानको ४१ रोपनी उपभोग गरिसकेको छ ।
पूर्वआईजीपी ध्रुवबहादुर प्रधानले सरकारको यो निर्णय गलत रहेको बताए । ‘यसले प्रहरीको संगठनात्मक क्षमतालाई कमजोर पार्छ,’ उनले भने, ‘सहरको केन्द्रमा हुनुपर्ने सक्रिय संस्थालाई सहरबाहिर सार्ने र निष्क्रिय संस्थाले उक्त स्थान अधिग्रहण गर्ने सरकारको निर्णय ठीक भएन ।’
२०४२ देखि ०४६ सम्म एकेडेमीको नेतृत्व सम्हालेका प्रधानका अनुसार छोटो अवधिका विशिष्ट तालिममा विदेशी प्रशिक्षक बोलाउँदा समयका हिसाबले पनि महाराजगन्ज उपयुक्त हुन्छ ।
पूर्वएआईजी देवेन्द्र सुवेदीले प्रहरी एकेडेमी सार्ने निर्णयले प्रहरीको इतिहास मेट्ने बताए । उनले भने, ‘७० वर्ष लगाएर, धेरैको पसिना सिँचेर तयार भएको पूर्वाधार स्थानान्तरण गर्दा प्रहरीको संगठनात्मक संरचनामा दीर्घकालीन असर पर्छ ।’
उनका अनुसार अहिलेकै जस्तो संगठनात्मक पूर्वाधार नयाँ तोकिएको स्थानमा निर्माण गर्न कम्तीमा १५ वर्ष लाग्छ । त्यसैले एकेडेमी सार्ने निर्णय प्रहरीको दीर्घकालीन हितमा छैन ।
एकेडेमी रहेको स्थानको केही जग्गा मनकारी दाताले प्रहरीकै लागि भनेर दान गरेका थिए । सुवेदीका अनुसार पूर्वएसएसपी कृष्णभक्त श्रेष्ठले पनि एकेडेमीका लागि जग्गा दिएका थिए ।
सरकारी निर्णयले ती दाताको मन दुखाएको उनले बताए । ‘प्रहरी एकेडेमी दरबार हाईस्कुलजस्तै इतिहास बोकेको जीवन्त संस्था हो, यो प्रहरीचौकी वा क्षेत्रीय कार्यालय सारेजस्तो होइन,’ उनले भने । कान्तिपुर दैनिकबाट
राष्ट्रपति निवास प्रहरी प्रशिक्षण प्रतिष्ठान