News

स्वरोजगार कोषमा अनियमितताः अख्तियारले थाल्यो अनुसन्धान 

स्वरोजगार कोषमा अनियमितताः अख्तियारले थाल्यो अनुसन्धान 

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको भ्रष्टाचार र बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

 

 

कोषको रकम वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधालगायतमा व्यापक भ्रष्टाचार भएको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेसँगै अख्तियारले पनि अनुसन्धान थालेको हो ।

 

 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले स्वरोजगार कोषको अनियमितताबारे अध्ययन भइरहेको बताए । ‘सतर्कताको प्रतिवेदन र सुझावसहित सम्बन्धित महाशाखाले अध्ययन गरिरहेको छ, अध्ययनपछि के गर्ने भन्नेमा पुग्छौं,’ उनले भने ।

 

 

सतर्कता केन्द्रले छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारलाई पनि कार्यान्वयनका लागि भन्दै बुझाएको थियो ।

 

 

बेरोजगार तथा अशिक्षितलाई रोजगारी दिने उद्देश्यले स्थापित कोषमा कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होलसेल पसल, मालसामान सप्लाई गर्ने डिलरलगायतलाई रकम बाँडेको छानबिन प्रतिवेदन सतर्कताले सार्वजनिक गरेको थियो ।

 

 

कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबीसमेत झुटो रहेको सतर्कता केन्द्रको छानबिनका क्रममा फेला परेको थियो ।

 

 

उनीहरू पहिलेदेखि नै रोजगार रहेको तर कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको झुटो दाबी पेस गरेको सतर्कता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

 

 

‘औपचारिक शिक्षा आर्जनलगायत कुनै पनि पेसा व्यवसायमा संलग्न नरहेका बेरोजगार व्यक्तिलाई लक्षित समूहका रूपमा परिभाषित गरिएकोमा सोविपरीत हुने गरी सुन व्यवसायी, बस तथा ट्याक्सी, शिक्षित व्यक्तिहरू, होलसेल व्यवसाय, ढुवानी व्यवसायी, मालसमान सप्लाई गर्ने डिलर आदिमा लगानी भएको देखियो,’ छानबिन प्रतिवेदनमा उल्लेख छ ।

 

 

कोष व्यवस्थापनले २३ जना दरबन्दीका लागि विज्ञापन गरेर नियमविपरीत ३१ जना कर्मचारी नियुक्त गरेकोसमेत प्रतिवेदनमा छ । राजधानी दैनिकबाट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग युवा तथा साना व्यवसायी स्वरोजगार कोष भ्रष्टाचार र बेथिति

विशेष