News

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

काठमाडौं । विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’ मा सूचीकृत भएका छन् ।

 

 

बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो । 

 

 

पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको धरोहर शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ ।

 

 

उक्त प्रमाणपत्र काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमकाबीच भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभा अन्तर्गतको रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरे । 

 

 

संस्थाले परम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यका क्षेत्रमा गुणस्तरीय सेवा पुर्याएबापत ‘वल्ड स्ट्याण्र्डाइजेसन’ प्रमाणपत्र प्रदान गरेको छ भने बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेशनल एक्सिलेन्सी अवार्ड’ ले सम्मान गरेको छ । 

 

 

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । उनले पशुपतिनाथ, लुम्बिनीलगायत अन्य धेरै पुरातात्विक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल क्रमशः सूचीकृत हुँदै जाने विश्वास व्यक्त गरे ।  

 

 

भाजपाका नेता मिश्रले पुरातात्विक सम्पदा, धार्मिक सांस्कृतिक मठमन्दिरले भरिपूर्ण नेपाल अध्यात्म ज्ञानको पवित्र भूमि भएको उल्लेख गरे।

 

 

भारत र नेपालबीच भौगोलिक, सांस्कृतिक, आर्थिकलगायत हिसाबले सदिऔँदेखि गहिरो सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले आपसी सहयोग र सम्बन्धलाई थप प्रभावकारी बनाएर लैजाने विश्वाससमेत व्यक्त गरे ।
 

विशेष