अब मेक्सिकोमा पनि कुकुर तिहार
एजेन्सी । नेपालको दोस्रो महान पर्व तिहारको दोस्रो दिन मनाइने कुकुर तिहार अब मेक्सिकोमा पनि मनाइने भएको छ । मेक्सिकोस्थित ‘मेक्सिकन एनिमल राइट्स् ग्रुप’ ले यो कार्यको सुरूवात गरेको हो । केही दिनअघि नेपालमा कुकुर तिहार मनाइएलगत्तै मेक्सिको सिटीको रिभोलुसन स्क्वायर र प्यूर्टो भालार्टामा कुकुर पूजा गरिएको थियो ।
मेक्सिकोमा कुकुर तिहार मनाउने परम्पराको सुरूवात सन् २०१६ बाट भएको हो । पशुलाई पनि मानवीय व्यवहार गर्नुपर्छ भन्ने सन्देशले यो परम्पराको विकास भएको हो । त्यस समयदेखि नै मेक्सिकोमा कुकुुर तिहारले निरन्तरता पाउँदै आएको छ ।
पछिल्लो वर्ष प्यूर्टो भालार्टामा आयोजना भएको कुकुर तिहारका कार्यक्रममा मेक्सिकोमा सन् २०१७ मा गएको भूकम्पमा सहयोग पु-याउने कुकुर फ्रिडालाई पनि सम्मान गरेको थियो । उक्त भूकम्पमा परेर ज्यान गुमाउने सबै कुकुरहरूलाई समर्पित मौनधारणा पनि कार्यक्रममा गरिएको थियो ।