समयमै काम नसक्ने निर्माण व्यवसायीलाई दैनिक डेढ लाख जरिवाना
काठमाडौं । सडक तथा पुलको ठेक्का लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई धमाधम जरिवाना गर्न थालिएको छ ।
उपत्यका र विभिन्न जिल्लामा थपिएको समयमा पनि काम नसक्ने व्यवसायीलाई जरिवाना गरिएको सडक विभागले जनाएको छ ।
तीन पटक म्याद थप्दा पनि काम नसकेपछि भक्तपुरको कमलविनायक–भत्केको पाटी–नगरकोट सडकको ठेक्का लिएका शैलुङरएआईपीएल (आरामाली इन्फ्रा पावर लिमिडेट) जेभीलाई जरिवाना गरिएको छ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमका अनुसार दैनिक १ लाख ४० हजारका दरले जरिवाना गरिएको हो। ‘पटक–पटक म्याद थप्दा पनि काम नसकेपछि जरिवाना गरिएको हो,’ उनले भने, ‘अहिले दैनिक जरिवाना तिरेर काम भइरहेको छ।’ जेठबाट जरिवाना सुरु गरिएको हो।
यो ठेक्का २८ करोडको छ। सन् २०१४ जुन ५ मा सम्झौता भएको सडक जम्मा १६ किलोमिटर छ। निर्माण व्यवसायीले पेस गर्ने बिलमा जरिवाना रकम कटाएर मात्र भुक्तानी दिइने विभागले जनाएको छ ।
गौतमका अनुसार दोलखा, दाङ र मोरङ सडक डिभिजनले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई जरिवाना गराएका छन् ।सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रिप्रसाद शर्माले थप गरिएको समयमा काम नसक्ने २० निर्माण व्यवसायीलाई जरिवाना गरिएको बताए।
‘हामीले आव २०७४-७५ मा समयमै काम नसक्ने निर्माण व्यवसायीबाट ८८ लाख जरिवाना गरायौं,’ उनले भने, ‘एउटैले २६ लाख रुपैयाँसम्म बुझाएका छन्।’
उनका अनुसार सबैभन्दा बढी तिर्नेमा बिटीरटौदहरफस्को जेभी छन्। तोकिएकै समयमा निर्माण नसकेकाले जरिवाना गरिएको उनले बताए। कान्तिपुर दैनिकबाट
जरिवाना निर्माण व्यवसायी