दसैं-तिहार सकियो, भारत जाने युवाको लर्को
बाजुरा । सुदूरपश्चिम प्रदेशका अधिकांश युवा दसै तिहार सकिएसँगै मजदुरी गर्न भारत जान थालेका छन् ।
यो प्रदेशका बझाङ, बाजुरा, बैतडी, दार्चुला, बैतडी, डडेल्धुरालगायतका अधिकांश युवा भारत जान थालेका हुन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ ।
खेतबारीको उब्जनीले केही महीना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् । दसैं तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन् ।
सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौं, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए । गाउँघर फेरि सुनसान बन्न थालेका छन् ।