विदेश

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ ।

 

अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । 

 

 

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । 

 

 

खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताउनुभएको छ ।

 

 

यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो । अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ एक सय भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् ।

 

 

बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरु परिचालन गरिएका र उनीहरुले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमले जानकारी दिएका छन् । जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ ।

 

 

समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । -एजेन्सी

क्यालिफोर्निया डढेलो अग्नि नियन्त्रक

विशेष