News राजनीति

खेलकुदमन्त्री भन्छन्, ‘अब सातै प्रदेशमा आधुनिक रंगशाला’ 

खेलकुदमन्त्री भन्छन्, ‘अब सातै प्रदेशमा आधुनिक रंगशाला’ 

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताएका छन् । 

 

 

नेपाल भलिबल सङ्घद्वारा कास्कीमा आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उहाँले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताए ।

 

 

मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको र मन्त्रिपरिषद्ले पास गर्ने बित्तिकै कामको शुरुआत हुने प्रस्ट पारे । 

 

खेलक्षेत्रलाई व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री विश्वकर्माले केही व्यक्तिले राजनीतिक आवरणमा बसेर खेलक्षेत्रमा व्यक्तिगत स्वार्थ र अभीष्ट पूरा गर्न खोज्दा समस्या आएको समेत भनाई राखे ।

 

सहभागीलाई नेपाल भलिबल संघका रेफ्री निर्देशक तथा अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षण दिएका थिए ।

 

तालीममा सहभागी १२ राष्ट्रिय रेफ्री र ४८ जना प्रदेशस्तरीय रेफ्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

जगतबहादुर विश्वकर्मा खेलकूदमन्त्री

विशेष