News

पप्पुको लापरवाहीः पिलर सम्झौताअनुसार नगाडिएको खुलासा

पप्पुको लापरवाहीः पिलर सम्झौताअनुसार नगाडिएको खुलासा

बर्दिया । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईमा निर्माण गरिएको पुलका पिलर सम्झौताअनुसार नगाडिएको खुलासा भएको छ ।

 


पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता भए पनि ५ मिटरमात्र भएको छ । पिलर कम गहिराइमा गाडिएकाले भासिएको अनुसन्धानमा देखिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ । 

 

 

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सम्झौताविपरीत करिब १० मिटर कम खनेर पिलर गाडिएको देखिएको बताए ।

 


हस्तान्तरण नहुँदै भासिएपछि आयोगले एक महिनाअघि पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रजौरिया, वर्तमान अध्यक्ष उनका छोरा सुमितलगायत १२ जनाविरुद्ध विशेष अदालतमा बिगोसहित मुद्दा दायर गरेको थियो । 

 

 

अदालतले मुद्दाको छिनोफानो गर्ने भएकाले थप केही बताउन नमिल्ने घिमिरेले बताए । गत वर्ष साउन २८ गते बबई नदीस्थित जब्दीघाटमा पुल भासिएपछि गुलरिया र बारबर्दिया नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको छ ।

 

 

पप्पु कन्स्ट्रक्सनले करिब ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । 

 

 

पुलको एउटा पिलर भासिएकाले अन्य तीनसमेत बांगिएका छन् । सर्वसाधारण आउजाउ गर्न मिले पनि चारपांग्रे ठूला सवारी गुड्न दिइएको छैन । 

 

 

पिलर भासिने क्रम बढेकाले कुनै पनि समय ठूलो दुर्घटना हुन सक्ने बारबर्दिया मेयर दुर्गाबहादुर थारूले बताए । ‘पुल पुनर्निर्माण गराउन स्थानीयले चौतर्फी दबाब दिन थालेका छन्,’ उनले भने, ‘कम्तीमा नयाँ पुल निर्माणनभएसम्म बेलिब्रिज बनाउन पहल भइरहेको छ ।’ कान्तिपुर दैनिकबाट

विशेष