पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा ८ लेनको बनाइने
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।
सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।
सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए ।
दुईवटै प्याकेजमा १४–१४ कम्पनीको प्रस्ताव
त्यस्तै, विभागले यसअघि नै कमलादेखि पूर्व सप्तकोसीसम्मको खण्ड सडक विस्तारका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ । सो सडकखण्डअन्तर्गत दुईवटा प्याकेजमा बोलपत्रमा आह्वान गरिएको इन्जिनियर शाक्यले बताए ।
बाँकी ८२७ किलोमिटरको अध्ययन हुँदै
कुल १ हजार २७ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि कोसीदेखि पूर्व काँकडभिट्टासम्म, कमलादेखि पश्चिम नारायणघाटसम्म र बुटवलदेखि पश्चिमको खण्डको अध्ययन तथा डिटेल डिजाइनलगायतका काम अगाडि बढाइएको उनले बताए ।
एसियाली विकास बैंक (एडिबी) ले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य ९सासेक० राजमार्ग सुधार परियोजनाअन्तर्गत प्रदान गरेको १८० मिलियन अमेरिकी डलरको लगानीमा दुई खण्डको विस्तार, अध्ययन, सडक सुरक्षा र मर्मतको काम अघि बढेको हो । पूर्व–पश्चिम राजमार्ग पूरै विस्तार सक्न भने ५ देखि ७ वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकबाट