News प्रदेश २

भिडियो देखाएर बलात्कृतसँगै पैसाकाे बार्गेनिङ

भिडियो देखाएर बलात्कृतसँगै पैसाकाे बार्गेनिङ

वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् ।

 

 

डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरूलाई पनि देखाइदिने भन्दै धम्काए ।

 

त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिइन् । मुद्दा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।

 


कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

 

 

गाउँका प्रभावशाली एकै खलकका यी व्यक्ति २० देखि ३५ वर्ष उमेरका हुन् । मनोजको धान मिल छ । त्यस दिन उनीहरू झन्डा मेलाबाट फर्किंदा मदिरा पिएर आएका थिए ।

 

 

‘घरमा पैखाना छैन । हामी महिलाहरू कि सबैजना सुतिसकेपछि, कि अरू नउठ्दै आफू निस्कनुपर्छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘पिसाब फेर्न गएका बेला चारै जनाले जबर्जस्ती गरे ।’

 

 

बलात्कार भएको थाहा पाए गाउँघरमा नराम्रो नजरले हेर्ने भएकाले कसैलाई नसुनाएको उनले बताइन् । ‘चुप थिएँ तर भिडियो देखाएर १५ हजार रुपैयाँ माग्न आए,’ उनले भनिन्, ‘आकाशले भिडियो देखाएपछि झसंग भएँ । एक त बलात्कार गरे, त्यसमाथि भिडियो बनाएर पैसाको बार्गेनिङ गर्न थाले । त्यही भएर प्रहरीमा निवेदन दिएँ ।’

 

 

प्रहरीमा मुद्दा दिलाउन सहयोग गरेकी गाउँकी सामाजिक कार्यकर्तालाई अहिले विभिन्न किसिमको दबाब आइरहेको उनले सुनाइन् । ‘पाँच लाख रुपैयाँ र ५ कट्ठा जमिन लिएर मिलापत्र गर्न दबाब आएको छ,’ उनले भनिन्, ‘तर मलाई कानुनी उपचार चाहिएको छ ।’

 

 

स्थानीय जयमंगल हजराले भने, ‘मिल्न दबाब आइरहेको छ ।’ उनका अनुसार टोलका भद्रभलाद्मीकै पहलमा बलात्कारको मुद्दा दर्ता गराइएको हो ।

 

 

घटनाको सर्जमिन मुचुल्कामा वडाध्यक्ष ब्रह्मदेव कुर्मीले समेत हस्ताक्षर गरेका छन् । घटनाबारे जिल्ला प्रहरी प्रमुखलाई आफैंले जानकारी गराएको उनले बताए । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार उजुरीबमोजिम गम्भीर रूपले अनुसन्धान थालिएको छ । कान्तिपुर दैनिकबाट

सामूहिक बलात्कार

विशेष