एपेक सम्मेलन सम्पन्न
एजेन्सि । एपेक सम्मेलन सम्पन्न भएको छ । पपुवा न्यू गिनीको पोर्ट मोर्सवाईमा भएको एपेक सम्मेलनमा पहिलो पटक कुनै पनि घोषणा पत्र जारी नगरी टुंगिएको हो ।
अमेरिका र चीनको व्यापार युद्धका कारण एसिया प्योसिफिक आर्थिक साझेदारी एपेकको सम्मेलन ठोस प्रगति बिना टुंगिएको छ । सम्मेलनका क्रममा यी दुई मुलुकका राष्ट्र प्रमुखहरुले एक अर्कालाई दोषारोपण मात्र गरेको र समस्या समाधानमा चासो नदेखाएका कारण सम्मेलनले ठोस प्रगति हासिल नगरेको बीबीसीले उल्लेख गरेको छ ।
यद्यपि, यस सम्मेलनमा भएको समझदारी केही समयपछि मात्र जारी गरिने पपुवा न्यू गिनीका राष्ट्रपति पिटर ओनिलले बताउनुभयो । अमेरिका र चीनबीचको चुलिँदो व्यापार युद्धका कारण अन्य मुलुकहरु समेत प्रभावित भएको अवस्थामा यो समस्या चाँडै समाधान गर्नुपर्ने उहाँको भनाई छ ।
एपेकले सन् २०२० देखि सदस्य राष्ट्रहरुबीच खुला र स्वतन्त्र व्यापार नीति अंगिकार गर्ने राष्ट्रपति ओनिलले बताउनुभयो । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति माईक पेन्सले एपेकले प्रशान्तिय मुलुक तथा द्धिपहरुबीच स्वाधीनताको र सामुन्द्रिक अधिकारको सुरक्षा दिने बताउनुभयो ।