संघीय संसद् सचिवालयद्वारा नयाँ गाडी किन्न बजेट माग
काठमाडौं । संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।
संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँभन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो ।
स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ।
२३ वटा गाडी, ३० वटा मोटरसाइकल र ४३ थान कम्प्युटरका लागि अर्थसँग २२ करोड रुपैयाँ बजेट माग गरेको सचिवालयले जनाएको छ । अर्थले भने अहिलेसम्म जबाफ पठाएको छैन ।
संसद् सचिवालयले एक महिनाअघि नै अर्थलाई पत्र पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । नागरिक दैनिकबाट
संघीय संसद् सचिवालय