कैलाली कारागारका कैदीलाई कम्बल वितरण
धनगढी । जिल्ला कारागार कैलालीमा रहेका कैदी बन्दीहरुलाई मंगलबार कम्वल वितरण गरिएको छ ।
धनगढी उपमहानगरपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीले कारागारमा रहेका कैदी बन्दीहरुलाई कम्वल वितरण गरेको हो ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मानविय धर्म अन्तरगत कैदी बन्दीहरुलाई कम्वल वितरण गरिएको बताए ।
नगर प्रमुख वड र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले संयुक्तरुपमा कैदी बन्दीहरुलाई कम्वल वितरण गरेका थिए । नगर प्रमुख वडले कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताए ।
रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीका सभापति जोशीले आफुहरुले यस्ता काममा सधैं सहभागिता जनाई राख्ने बताए ।
उनका अनुसार ४ सय १० कम्वल कैदीबन्दीलाई हस्तान्तरण गरिएको छ । कारागार जेलर महेन्द्र खड्काले कम्वल वितरणले कैदीहरुलाई ठूलो राहत पुग्ने बताए ।
कैलाली कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी छन् । १ सय २५ जनाको क्षमता रहेको कारागारमा ४ सय ७ जना कैदीहरु राखिएका छन् । जसमध्ये २८ जना महिला र २ जनाआश्रीत बालबालिकाहरु रहेका छन् ।