कैलालीको कुसुमघाट गाउँ, जहाँका नागरिकसँग लालपुर्जा छैन
कैलाली । जिल्लाको भजनी नगरपालिका–३, कुसुमघाट गाउँ बसाउने मध्ये स्थानीय हर्क साउदका बाजे जंगबहादुर पनि एक हुन् ।
२०२४ सालमा घना जंगल फाँडेर बसाएको कुसुमघाट गाउँमा तिनै जंगबहादुरको चौथो पुस्ता हुर्किरहेको छ।
त्यसअघि उनीहरू मोहनापारि भारतीय सीमासँगै जोडिएको ठाउँमा बस्थे । त्यहाँ भारतीय डाँकाहरूले सताउन थालेपछि वारि सरेका थिए ।
स्थानीयका अनुसार तत्कालीन समयमा जंगबहादुरलगायत केही सीमित व्यक्तिहरूले घना जंगल फाँडेर बस्ती बसाएका हुन् । अहिले कुसुमघाट गाउँमा १०९ घरधुरी छन् ।
गाउँ सहरोन्मुख अवस्थामा प्रवेश गरेको छ । विद्यालय छ । सानो बजार छ । स्वास्थ्य संस्था छ । चौडा बाटो निर्माण हुँदैछ । तर कुसुमघाटबासीसँग जग्गाधनीपुर्जा छैन।
वर्षौंदेखि भोगचलन गरेको जमिनको लालपुर्जा नहुँदा स्थानीय निकै समस्यामा छन् । न कसैको अंशवन्डा भएको छ न त जग्गा बेचबिखन नै हुन सकेको छ ।
जग्गा धितो राखेर बैकिङ कारोबार गरौं भन्दा पनि स्थानीयले पाएका छैनन् । कुसुमघाट भन्दा पछि बसेको बस्तीका बासिन्दाले जग्गाधनीपुर्जा पाइसकेका छन् । तर कुसुमघाटबासीले अझै पाउन सकेका छैनन् । नागरिक दैनिकबाट
लालपुर्जा कैलाली कुसुमघाट गाउँ