एसिया प्यासिफिक समिटबारे भ्रामक प्रचार भयो – अध्यक्ष ढकाल
काठमाडौं । युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष एकनाथ ढकालले एसिया प्यासिफिक समिटका सम्बन्धमा भ्रम सिर्जना गरिएको बताएका छन् ।
मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको ‘एसिया–प्यासिफिक समिट इसाई धर्मसम्बन्धी हो’ भन्ने गलत प्रचार भएको अध्यक्ष ढकालले उल्लेख गरे । नेपालआजसँगको कुराकानीका क्रममा उनले भने, ‘यो सम्मेलनमा धार्मिक सहिष्णुता सम्बन्धी एउटा सेसन छ । बाँकी अरु विषयमा छन् । वृन्दावनका डा. गोश्वामीसहित भारतबाट मात्रै १६–१७ जना हिन्दु गुरुहरु नेपाल आउँदै हुनुहुन्छ । हिन्दु, बुद्धिष्ट, मुस्लिम, इसाईलगायत अरु पनि धर्मका प्रतिनिधिहरु सहभागी हुँदै हुनुहुन्छ । हामी ‘धार्मिक सद्भाव’ भन्छौं, प्रचार ‘इसाइकरण’का रुपमा भइरहेको छ ।’
यस्तो समिटमा यसअघि नेपालका प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतले अन्य मुलुकमा गएर सहभागी भइसकेको अध्यक्ष ढकाल बताउँछन् । एसिया प्यासिफिकका दर्जनौं मुलुकका प्रतिनिधि सहभागी हुने समिट ठूलो कार्यक्रम भएको उनको भनाइ छ । ढकाल भन्छन्, ‘यसपटक हामीले यो सम्मेलनको आयोजना गर्ने अवसर पाएका छौं । कार्यक्रमको अध्यक्षता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुनेछ ।’
यस्तो कार्यक्रम कुनै एक संस्थाको मात्रै नभएर समग्र राष्ट्रकै हुने भएकोले नेपाल सरकार पनि एक आयोजक भएको उनले बताए ।
सम्मेलनको आयोजना युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी र नेपाल सरकारले संयुक्त रुपमा गर्दैछन् ।