News प्रदेश ५

नगरपालिकाले कृषियोग्य जमीनमा ८० प्रतिशत कर छुट दिने

नगरपालिकाले कृषियोग्य जमीनमा  ८० प्रतिशत कर छुट दिने

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । 


चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । 
कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो ।

 

नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर लगाउँदै आएको छ । त्यसलाई १०० प्रतिशत मानी ८० प्रतिशत घटाएर बाँकी आउने २० प्रतिशत मूल्यमा मात्र कर लिने रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी  दिएका छन् ।

 

नगरपालिकाले रु दश लाखसम्म सम्पत्ति भएकालाई रु २०० र रु २५ लाखसम्म सम्पत्ति भएकालाई रु एक हजारको दरले कर लिँदै आएकामा अबदेखि कृषियोग्य जग्गा छुट्याएर कर छुट दिने भएको छ । जग्गाको मूल्याङ्कन भने नघटाइने गुप्ताले बताएका छन् । कृषियोग्य जमीनमा लाग्ने कर शून्य प्रतिशतमा झार्ने प्रावधान नभएकाले २० प्रतिशत मात्र कर लिन लागिएको नगर प्रमुख गुप्ताको भनाइ छ । “घडेरी र भौतिक संरचनामा कर यथावत रहनेछ” उहाँले भन्नुभयो, “कर छुट मङ्सिर १४ गते हुने नगरसभाबाट निर्णय गराई लागू गरिनेछ ।” 


 

विशेष