News

त्रिविको वार्षिक प्रणालीको नतिजा कमजोर, सेमेस्टरमा सुधार

त्रिविको वार्षिक प्रणालीको नतिजा कमजोर, सेमेस्टरमा सुधार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको छ । 

 


वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण नतिजा १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको हो ।

 

 

वार्षिक प्रणालीमा सबैभन्दा कमजोर नतिजा शिक्षाशास्त्र संकायको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार बिएस्सी, बिबिएस, बिएड र बिएमध्ये सबैभन्दा कमजोर नतिजा बिएडको छ ।

 

 

सेमेस्टर प्रणालीमा पनि तुलनात्मक रूपमा शिक्षाशास्त्र संकायकै नतिजा कमजोर छ । त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गरेको स्नातकोत्तर तहको पाँच संकाय र चार अध्ययन संस्थानमध्ये शिक्षाशास्त्रको नतिजा कमजोर देखिएको हो । 

 


सो संकायमा पहिलो र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको उत्तीर्ण प्रतिशत ४५ प्रतिशतको हाराहारी मात्रै छ ।

 


‘एमएड पहिलो र दोस्रो सेमेस्टरमा उत्तीर्ण प्रतिशत ५० प्रतिशतभन्दा कम छ,’ शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले भने, ‘तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दामाथि छ ।’

 


विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले ०७२ देखि त्रिविका केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहबाट सेमेस्टर प्रणाली सुरु भएको हो । नयाँ पत्रिका दैनिकबाट 

त्रिभुवन विश्वविद्यालय सेमेस्टर प्रणाली

विशेष