News प्रदेश १

बालिका बलात्कार आरोपमा बाबु–छोरासहित ४ जना पक्राउ

बालिका बलात्कार आरोपमा बाबु–छोरासहित ४ जना पक्राउ

दमक । अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट बाबु–छोरासहित चार जना पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् ।

 

 

उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए । राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेको प्रहरी निरीक्षक थापाले बताए ।

 

 

पुरुषोत्तमले कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रवीन बराइलीले कात्तिक २३, उनका भार्इ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

 

 

उनीहरूले बालिकालाई आफ्नो घरमा, नजिकैको बाँस झ्याङमा र एकपटक बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।

 

 

उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

 

भिन्नाभिन्नै व्यक्तिबाट पटकपटक बलात्कृत हुँदा बालिकाले घटनाबारे आमालाई सुनाएकी थिइन् । बालिकाकी आमा पनि सुस्त श्रवणकी छन् । कान्तिपुर दैनिकबाट 

बालिका बलात्कार

विशेष