News

गाईगोरुको जन्म दर्ता गर्न ‘एप्स’ डिजाइन

गाईगोरुको जन्म दर्ता गर्न ‘एप्स’ डिजाइन

बुटवल । गाईगोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ । उनीहरूको जन्म–मृत्युसहित जीवनका घटना नगरपालिकामा टिपाउनुपर्छ । किनबेच गरेको समेत जानकारी दिनुपर्नेछ । 

 

 

तिनको घटना दर्ताका लागि तिलोत्तमा नगरपालिकाले ‘एप्स’ डिजाइन गर्दै छ । त्यसमा किसानको नाम र पालेका गाईको विवरण लेखिनेछ ।

 


गाई ब्यायो, किनबेच गर्‍यो वा मर्‍यो भने वडा कार्यालयमा गएर सूचना दिने व्यवस्था हुनेछ । दर्ता गरेकै दिन प्रोत्साहन रकम दिइनेछ । साताभित्र घटना दर्ता गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहनस्वरूप प्रतिपशु ३ सय रुपैयाँ दिने भएको छ ।

 

 

समयमा दर्ता नगर्नेलाई जरिवाना लाग्छ । ‘त्यो जरिवाना नभई सुविधा खोस्ने हो,’ मेयर वासुदेव घिमिरेले भने, ‘गाईको जन्मदर्ता, बसाइँसराइ र मृत्यु दर्ता नगर्ने किसानको बिमा, घाँस, उपचारलगायत सुविधा काटिनेछन् ।’

 

 

नगरपालिकाले पशु बिमा गर्दा ५० प्रतिशत रकम सुविधा पनि दिने भएको छ । थारा गाई तथा बाछा सडकमा छाड्ने प्रवृत्ति बढेपछि नगरपालिकाले घटना दर्ता अभियान चलाएको हो ।

 

 

‘यसबाट नगरका गाईगोरुको यकिन तथ्यांक निस्किनेछ,’ उनले भने, ‘सडकमा कसले छाड्यो भनेर पत्ता लगाउन र कारबाही गर्न सहज हुनेछ ।’

 

 

छाडा चौपायाबाट हुने सडक दुर्घटना तथा बालीनाली क्षति रोक्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४’ जारी गरेर गत वर्षदेखि कार्यान्वयन गरिरहेको छ ।

 

 

त्यसमा गाईगोरु, बाछाबाछी बेवारिस छाडिए ३ हजार, राँगाभैंसी, पाडापाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको ५ सय रुपैयाँ जरिवाना गर्ने उल्लेख छ । कान्तिपुर दैनिकबाट 

बुटवल एप्स

विशेष