News

नौ हजारलाई ट्राफिक शिक्षा प्रदान

नौ हजारलाई ट्राफिक शिक्षा प्रदान

कावासोती । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । 

 

 

पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो ।

 

 

कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए। 

 

 

उनकाअनुसार सवारी चालक दुई हजार ९ सय, पैदलयात्रु दुई हजार र विद्यार्थी चार हजार एकसय गरी नौ हजारलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ ।

 

 

सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका साथै ट्राफिक नियमजस्ता जनचेतनामूलक शिक्षा प्रदान गरिएको उनको भनार्र्इ थियो । 

 

 

नवलपुरमा विसं २०७४ पुसदेखि २०७५ मंसिरसम्म भएका १६२ सवारी दुर्घटनामा परी १०२ जनाले ज्यान गुमाइसकेका र गत कात्तिक महीनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए ।

 

 

चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने भएकाले चालकलाई लक्षित गरी उक्त शिक्षा प्रदान गरिएको थियो ।

 

 

विद्यार्थीमार्फत घरघरमा ट्राफिक नियमका सन्देश प्रवाह हुने भएकाले विभिन्न विद्यालयमा पुगी उक्त शिक्षा सञ्चालन गरिएको प्रमुख शाहीले बताए ।

सवारी दुर्घटना ट्राफिक प्रहरी ट्राफिक शिक्षा

विशेष