News प्रदेश ७

युवा भारत गएपछि गाउँ सुनसान

युवा भारत गएपछि गाउँ सुनसान

बाजुरा । यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । 

 

 

‘गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । 

 

 

सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन’ परिवार पाल्न छिमेकी मुलुक भारततिर रोजगारीका लागि जानुको विकल्प नरहेको स्वीकार्दै स्वामीकार्तिक खापर गाउँपालिका–१ का धनबहादुर विकले गुनासो गरे ।

 

 

पारिवारिक भेटघाट तथा दसैं तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन करिब ५० को सङ्ख्यामा जिल्लाबाट बाहिरिन थालेका छन । 

 

 

युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले गाउँपालिका–१ को पुरै गाउँ सुनसान बनेको छ । 

 

 

गाउँमा पढेलेखेका युवा धेरै छन् । पढाइ सकेर प्रमाणपत्र बाकसमा राखेर काम खोज्न छिमेकी देश भारत जानुपर्ने अवस्था आएको मुक्तिकोट गाउँका लालबहादुर विकले बताए ।

 

 

त्यस्तै, मुक्तिकोटका पुरै दलित परिवारका युवा रोजगारी खोज्न भारततिर लागेका छन् । उक्त गाउँमा करीब ३ सय बढी दलित परिवार बसोबास गरिरहेका छन् । 

 

 

युवा रोजगारीका लागि भारत लागेपछि अहिले गाउँमा महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा मात्र छन् । 

 

 

सिंहदरबारको अधिकार स्थानीय सरकारअन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको सुर्ज विकले गुनासो गरे । 

 

 

गाउँमा स्थानीय सरकार आएको छ, तर स्थानीय तहले गाउँमा रहेका युवालाई कुनै किसिमको रोजगारीको अवसर सिर्जना गर्न नसकेको उनले बताए । 

 

 

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता भएको सुर्ज विकको भनाई छ । 

 

 

मङसिर महीनाको पहिलो सातामात्रै गाउँपालिका–१ मुक्तिकोट गाउँबाट झण्डै दुईसय बढी युवा जिल्ला बाहिर गएका छन् । 

 

सांसदलाई ज्ञापनपत्र 

यसैबीच नागरिक सेवा सरोकार मञ्चले रोजगारीका लागि काम गर्न भारत जान लागेका मुक्तिकोटका दुईसय बढी युवालाई रोजगारी अवसर सिर्जना गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य लालबहादुर थापालाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । 

 

 

मञ्चको अगुवाइमा मुक्तिकोटका स्थानीयले सांसद थापाको निजी निवास मार्तडीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । 

 

 

गाउँमा कुनै किसिमको रोजगारी सिर्जना नभएपछि हिउँदयाममा कामका लागि भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक पहल गरिदिन सांसद थापालाई ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक जनेश भण्डारीले बताए । 

 

 

त्यस अवसरमा सांसद थापाले गाउँको विकासका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट गाउँसम्म जोडिने सडक निर्माण गर्न ३० लाख रकम विनियोजन गरिएको जानकारी दिए । 

 

 

गाउँसम्म निर्माण गरिने सडकलाई गाउँका स्थानीयवासीबाटै निर्माण गराउने आश्वासन थापाले दिए । 

बाजुरा युवा रोजगारी

विशेष