News प्रदेश ७

 निर्मलाका बुबा मानसिक रूपमा विक्षिप्त

 निर्मलाका बुबा मानसिक रूपमा विक्षिप्त

कञ्चनपुर । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् ।

 

शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् ।

 

सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् ।

 

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् ।

 

‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् ।

 

अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ ।

 

‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’ नयाँ पत्रिका दैनिकबाट

निर्मला पन्त कञ्चनपुर यज्ञराज पन्त

विशेष