News

अध्यक्ष आचार्य भन्छन्, ‘सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन सकेन’ 

अध्यक्ष आचार्य भन्छन्, ‘सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन सकेन’ 

बलेवा । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन नसकेको बताएका छन् ।

 

 

नेपाल पत्रकार महासंघ बागलुङको ११ औं साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले भने, “राज्यको पुनःसंरचना भए पनि सञ्चार क्षेत्रको अधिकार केन्द्रमा मात्रै सीमित रहेको छ ।” 

 

 

अध्यक्ष आचार्यले प्रेसप्रति अंकुश लगाएर राज्य लोकतन्त्रप्रति उदार बन्न नसक्ने बताउँदै संघीयताको कार्यान्वयनसँगै बनेका संरचनाअनुसार सञ्चार क्षेत्रको अधिकार पनि हस्तान्तरण हुनुपर्नेमा जोड दिए । 

 

 

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि सञ्चार क्षेत्रको अधिकार भने सिंहदरबार वरिपरि घुमिरहेको बताउँदै उनले देशमा भएका ठूलाठूला परिवर्तनमा पत्रकारिता क्षेत्रले सघाएको भए पनि देशका राजनीतिक दल र सरकारले त्यो योगदानलाई भुलेर अङ्कुश लगाउने बाटो खोजेकोमा दुःख व्यक्त गरे । 

 

 

अध्यक्ष आचार्यले राज्यले प्रेस स्वतन्त्रतालाई कानूनका माध्यमबाट अङ्कुश लगाएर सञ्चार क्षेत्रलाई कमजोर र नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै नयाँ मुलुकी संहितामा व्यवस्था भएअनुसार पत्रकार र पत्रकारिता क्षेत्रलाई बाँध्न खोजिएकाले प्रेस स्वतन्त्रताको लडाईं जारी राख्नुपरेको धारणा व्यक्त गरे । 

 

 

पत्रकार आचार संहिता र सञ्चारमाध्यमको प्रभावकारिताका विषयमा नागरिक सुनुवाइमार्फत सुझाव संकलन गरेर पत्रकारिता भित्रका विकृति खोज्नुपर्नेमा जोड दिदैं उनले पत्रकार महासंघको निर्वाचन प्रणाली सुधारका विषयमा सबैको एकता आवश्यक रहेको बताए । 

 

 

अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमाथिको अङ्कुशका विषयमा खुलेर सङ्घर्ष गर्न पत्रकारलाई आग्रह गर्दै अहिले के भइरहेको छ भन्दा पनि मूल प्रकृति के हो भन्ने विषयमा हेक्का राखेर पत्रकारले प्रहार गर्नुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघ गोविन्द आचार्य

विशेष