News अर्थ

वाइडबडी खरिद विवाद : सांसदको प्रश्न -महालेखा परीक्षकको प्रतिवेदन गलत छ, महाप्रवन्धक कंसाकारको उत्तर - कमा र फुलस्टप समेत बिग्रेको छैन 

वाइडबडी खरिद विवाद : सांसदको प्रश्न -महालेखा परीक्षकको प्रतिवेदन गलत छ, महाप्रवन्धक कंसाकारको उत्तर - कमा र फुलस्टप समेत बिग्रेको छैन 

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियालाई लिएर देखिएको विवादलाई लिएर प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिमा आइतबार प्रश्नउत्तर चलेको छ  । 

 

 

लेखा समितिको आइतबारको बैठकमा वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांसदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् भने निगमका महाप्रबन्धक  सुगत रत्न कंसाकारले वाइड बडी जहाज खरिदमा कमा र फुलस्टप समेत नबिगारेको बयान दिएका छन् ।

 

 

बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको भन्दै कारबाहीका लागि सिफारिस हुनुपर्ने बताए । बैठकमा सहभागी सांसाद अमनलाल मोदी लगायतका नेकपा सांसदहरुले कारबाहीको माग गरेका थिए । 

 

 

महाप्रवन्धक कंसाकारले भने लेखा समितिमा उठेको प्रश्नको जवाफ दिदैं वाइड बडी ल्याउने प्रयास गर्दा यस अघि पनि आफुलाई जेल हाल्ने प्रयास भएको भन्दै वाइडबडी खरिदमा गल्ती नभएको बताए ।  ‘हामीले वाइड बडि खरिदमा सार्वजनिक खरिद एेन र विनियमालीका प्रत्येक अक्षर र कमा मिलाएका छौं, त्यसको सबै प्रमाण हामीसँग छ , ’ कंसारकारले भने ,  २४२ टन क्षमताको विमान खरिद गर्ने निर्णय भएको तर, त्यो भन्दा कम क्षमताको विमान खरिद भएको हल्ला  निराधार भएको बताए । 

 

सांसद सूर्य पाठकले ‘के त्यसो भए महालेखा परीक्षकको प्रतिवेदन गलत छ त भनि प्रश्न गर्दा महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका छन् ।

 

 

महाप्रवन्धक कंसकारको जवाफ पछि सांसदहरुले महाप्रवन्धकले गल्ती स्वीकार गरेको भन्दै कारबाही सिफारिस हुनुपर्ने धारणा राखेका छन् । तर, लेखा समितिका सभापति भरत शाहले नियम कानून अनुसार चल्ने र अहिले नै कुनै सिफारिस नहुने बताएका छन् 

 

 

बैठकमा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडिलाई संचालन गर्न नसक्दा निगमले घाटा बेहोर्नु परेको बताए । उनले वाइड बडिलाई जापानको नारिता ,ओसाका शहर तथा चीनका विभिन्न् शहरहरुमा उडाउने तयारी भैरहेको जानकारी पनि दिए ।

 

 

हाल निगमसँग ५० अर्बको सम्पति र ३९ अर्ब ऋण रहेको जानकारी पनि बैठकमा गराईएको थियो ।  हाल निगमले साँवा र ब्याज गरि मासिक १ अर्ब १३ करोड रुपैंयाँ बुझाउने गरेको जानकारी पनि बैठकमा गराईएको थियो ।

 

 

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले वाइड बडी जहाज खरिद गरिएको हो वा भाडामा ल्याईएको हो ? नागरिक लागनी कोष र कर्मचारी सञ्चय कोषको ३३ अर्ब ऋण त डुब्दैन भन्ने जिज्ञासा राखेका थिए । सांसदहरुले निगम नेतृत्वको कमजोर क्षमताका कारण देशको शानका रुपमा रहेको निगम ओरालो लाग्दै गएको आरोप लगाएका थिए ।

विशेष